छोकडाको समेत तस्करी सुरु, तीन हजार ५ सय किलो छोकडा बरामद


विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम चलिरहेकै बेला पछिल्लो समय छोकडासमेत तस्करी हुन थालेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य बाहिर आएको हो ।

यसभन्दा अघि स्याउ, मरिच, केराउ, सुपारीको तस्करीले चर्चा पाएको थियो । सुपारी तस्करी गरी भारत लैजाने क्रम वढेपछि सरकारले निगरानी राख्न थालेसंगै छोकडाको तस्करी सुरु भएको हो । पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको हो ।

नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ । प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो ।

इन्जिन नभएको स १ त ८७४४ नं को ट्र्याक्टरको ट्रलीबाट तीन हजार ५०० किलो छोकडा बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताए । उक्त ट्र्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१ बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।

पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले बताएका छन् । पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोवारमा आकर्षित छन् र सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन् ।

स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ । नेपालबाट अनौपचारिक कारोवार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ ।