नबिल र भारतको आईसीआईसीआई बैंकबीच सहकार्य सम्बन्धी सम्झौता

0
Shares

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ।

यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने बताइएको छ।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौं स्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। 

यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् ।

नबिल बैंकले नेपालमा बलियो बजार पहुच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ । यस कारण दुबै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउने जनाइएको छ ।

सम्झौताका क्रममा नबिल बैंकका सिईओ अनिल केशरी शाहले भने, ‘आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबिच नलेज शेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

साझेदारीका सम्बन्धमा रञ्जु सिगटियाले भनीन्, ‘भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ । आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुँसग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गरिरहेको छ । बढ्दो भारत–नेपाल आर्थिक करिडोरमा हाम्रो सहभागिता निरन्तर बढाउने प्रतिवद्धताअनुरुप यो सम्झौतापत्रमा हस्ताक्षर  गर्न पाउँदा हामी खुसी छौं ।’

नबिल बैंक निजीक्षेत्रद्वारा संचालित नेपालको अग्रणी वाणिज्य बैंक हो । देशभर यसका ९७ शाखा कार्यालय र १४३ एटिएम काउन्टरहरु रहेका छन् । नेपाली बैंकिङ क्षेत्रमा थुप्रै नवप्रवर्तनात्मक (इनोभेटिभ) प्रडक्ट तथा मार्केटिङ अवधारणा थालनी गर्ने सवालमा पायोनियर नबिल बैंकले नेपालको बैंकिङ इतिहासमा एउटा ‘माइलस्टोन’को प्रतिनिधित्व गर्छ जसले ग्राहकको सन्तुष्टि नै व्यवसायको मुख्य उद्देश्य मान्ने आधुनिक बैंकिङको युग शुरु गर्यो ।

सेप्टेम्बर ३०, २०१९ सम्मको अवस्थामा आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ ।

आईसीआईसीआई बैंक लिमिटेड (बीएसईः आईसीआईसीआईसीआईबैंक, इनएसईः आईसीआईसीआईसीआईबैंक, एनवाईएसईः आईबीएन) भारतको अग्रणी निजीक्षेत्रको बैंक हो । गत सेप्टेम्बर ३०, २०१९ सम्ममा यसको कुल सम्पत्ति १२,८८, १९० करोड भारतीय रुपैयाँबराबरको छ ।

यस बैंकका सहायक कम्पनीहरुमा भारतीय निजीक्षेत्रका अग्रणी इन्स्योरेन्स (बीमा), एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) र सेक्युरिटिज ब्रोकरेज (धितोपत्र दलाल) कम्पनीहरुका साथै देशकै सबैभन्दा ठूलो प्राइभेट इक्विटी फर्म रहेका छन् । भारतका साथै १५ देशमा यसको उपस्थिती रहेको छ ।