अभद्र व्यवहार मुद्दामा १२२ चिनियाँ नागरिकलाई जरिवाना

0
Shares

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासबाट १२२ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहार अन्तर्गत मुद्दामा जनही एक हजार जरिवानाको फैसला भएको छ । 

नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका पाइएपछि दाहालको इजलासबाट उक्त फैसला भएको हो। “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ।” प्रजिअ दाहालले भने।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाएको जानकारी दिए। अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ। जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि आइतबार नै अध्यागमन विभागमा बुझाएको छ ।

प्रहरीले यही पुस ७ गते काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरु विरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालमया मुद्दा चलाइएको थियो।

उनीहरुलाई साइबर अपराध, बैंकिङ्ग ह्याकिङ्ग गरेको आशंकामा पक्राउ गरिएपनि पुष्टि हुन नसकेपछि उनिहरुलाई अभद्र व्यवहारको कसुरमा दयिडत गरिएको हो। पक्राउ परेकामध्ये ८४ जनासँग पासपोर्ट छैन भने ६७ वटा पासपोर्ट बरामद गरिएकोमा ३८ जनासँग मात्र आफ्नो राहदानी फेला परेको छ । बाँकीले अन्य व्यक्तिको पासपोर्ट प्रयोग गरेको पाइएको थियो।