सूचक र कारोबार वृद्धिपछि नेप्से १२ सय पुग्दा लगानीकर्ता उत्साहित, ब्यापार बाहेक सबै उपसूचक हरियाली

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक र कारोबार रकममा उत्साहप्रद वृद्धि भएसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्। पूँजी बजारको नियामक निकायमा नयाँ अध्यक्ष चयन भई बजार विकास र विस्तारका कार्यले गति लिने विश्वास कारोबारीमा जाग्दा बजार सुधारको क्रम बढ्दो रुपमा देखिएको हो।

ठूला पूँजीकरण भएको बैंकिङ्ग उप समूहमा देखिएको सुधारले पनि नेप्से वृद्धिमा आड पुगेको हो। नेपालको शेयर बजारमा अझैपनि बैंक तथा वित्तीय संस्थाको हिस्सा करिब ७० प्रतिशत रहेको छ।

आइतबार १६ अंकले बढेको बजार सूचक नेप्से पुस २१ गते सोमबार १८.२६ अंकको वृद्धिका साथ १ हजार २०० दशमलव ६९ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ  पछिल्लो दुई दिन लगातार दोहोरो अंकले नेप्से बढ्दा साढे चार महिनापछि १२ सय बिन्दुमा पुगेको हो। गत भदौ १० गते नेप्से १२०८ बिन्दुमा थियो भने भदौ ११ गते ११९७ बिन्दुमा थियो।

सोमबार १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर १० हजार ७२६ पटककको कारोबारबाट ८४ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य वृद्दि हुँदा सूचमा उच्च सुधार देखिएको हो।

यसैगरि कारोबारमा आएका ब्यापार उप समूहको सूचक बाहेक सबै उप सूचकमा हरियाली छाएको छ । व्यापार १.७८ प्रतिशतले ओरालो लाग्दा बैंकिङ्ग उप समूहको सूचक सबैभन्दा धेरै २.४६ प्रतिशतले बढेको छ । लघुवित्त र म्युचुअल फण्डको सूचक पनि करिब २ प्रतिशतले बढेको हो। अन्य उप सूचकहरुमा समान्य वृद्धि देखिएको छ ।

एनआईसी एशियाको उच्च कारोबार

सोमबार कारोबारमा आएका कम्पनीमध्ये एनआईसी एशिया बैंकको सबैभन्दा अधिक शेयर खरिद बिक्री भएको छ । बैंकको १ लाख ९४ हजार कित्ता शेयर ८ करोड ४६ लाख ५ हजार रुपैयाँमा ५६० पटक खरीद बिक्री भएको छ ।

यसैगरि नेको इ्रन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टस् ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्तको ३ करोड ६४ लाख बराबरको काराबोर भयो। प्रभु बैंक, नेपाल लाईफ, एनएमबि बैंकको २ करोड बढीको कारोबार भएको बजारमा एनसीसी, नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंक गरि तीनवटा वाणिज्य बैंकको एक करोड बढीको काराबार भई शिर्ष ठूलो काराबार हुने दश कम्पनीमा समेटिएका छन्।

वोमीको शेयरधनीले कमाउँदा नेकोकाले गुमाए

यसदिन गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका दुई कम्पनीमध्ये एकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अर्को कम्पनीको ५ प्रतिशतले घटेको छ। वोमी माइक्रोफाइनान्सको शेयरधनीले लघुवित्तको शेयरमूल्यमा ९.९३ प्रतिशतले मूल्य बढ्दा सोमबारको बजारमा उच्च कमाएका छन् भने नेको इन्स्योरेन्सको शेयरधनीले ४.९४ प्रतिशतले गुमाउन पुगेका छन्।

वोमीको शेयर ६७ रुपैयाँ बढेर ७४२ पुगेको छ भने नेकोको २१ रुपैयाँले घटेर ४०४ रुपैयाँमा झरेको हो। आकर्षक बोनस र लाभांशले वोमीमा लगानीकर्ता आकर्षित हुँदा नेकोले नगद लाभांशमा शेयरधनीले चित्त नबुझाउँदा शेयरमूल्यमा नकारात्मक असर देखिएको हो।

सोमबारै वोमीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने नेको इन्स्योरेन्सले चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६.२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८१ प्रतिशतले कमाए ।  उता नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।