बोर्ड अध्यक्ष नियुक्तीको दोस्रो दिनमा दोहोरो अंकले नेप्से बढ्दा ६ महिनापछि अर्ब बढीको कारोबार

0
Shares

सरकारले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष चयन गरेको भोलिपल्टै शेयर बजारमा ६ महिना पश्चात नेप्सेमा दोहोरो अंकको उछालका साथ एक अर्ब बढीको शेयर कारोबार भएको छ। असारदेखि मंसिरसम्मको ६ महिना अवधिमा कुनैपनि दिनमा नेप्सेमा एक अर्ब माथिको कारोबार भएको थिएन।

यसअघि जेठ १६ गते एक अर्ब ५२ करोड बढीको शेयर कारोबार ६ महिना पश्चात कारोबार रकम अर्ब नाघेको हो। सो दिन १७४ कम्पनीका ४८ लाख ९४ हजार कित्ता शेयर कारोबार भएको थियो। सरकारले सार्वजनिक गरेको चालु आर्थिक बर्षको बजेटले शेयर बजारमा उत्साह जाग्दा सो बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबार रकम मात्र नभएर कारोबार भएको शेयर संख्यामा समेत रेकर्ड बनेको छ। पछिल्लो तीन दिनमा मात्रै नेप्से ५०.५८ अंकले बढीसकेको छ। यसअघि ३० लाख कित्ताभन्दा कम शेयर कारोबार हुने गरेकोमा मंगलबार १७९ कम्पनीका ३८ करोड ८० लाख ९५० कित्ता शेयर १२ हजार ४५७ पटक कारोबार भएका छन्।

नेप्से सूचक १.३५ प्रतिशत अर्थात १६.२३ अंकले बढेर १२१६.९२ अंकमा पुगेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर २६४.८१ बिन्दुमा पुगेको छ।

मंगलबार माछापुच्छ्रे बैंकको मात्रै १९ करोड ४९ लाख बराबरको कारोबार भएको यसदिनको बजारमा कूल एक अर्ब ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएका छन्। यस्तै एनआईसी एशिया बैंकको ६ करोड ४८ लाख, प्रभु बैंक ४ करोड २० लाख, डिप्रोक्स लघुवित्त ४ करोड ६ लाखको शेयर कारोबार भयो। एनसीसी, एनएमबि, लुम्बिनी विकास, सिद्धार्थ, नेपाल लाइफको पनि २ करोड बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएका होटल्स र उत्पादनमूल उपसमूहका सूचक बाहेक बाँकी दशवटै सूचकमा हरियाली छाएको छ । बैंकिङ्ग, विकास बैंक, जलविद्युत्त, निर्जीवन बीमा तथा जीवन बीमा उपसमूहको सूचक करिब २ प्रतिशतले उकालो लागेका छन्।

बोर्डमा नयाँ अध्यक्ष भित्रिएसँगै अवरुद्ध पूँजी बजारको विकास र विस्ता तथा स्थायीत्वको काम अगाडि बढ्ने भएपछि शेयर बजार उकालो लागेको हो। यसबाहेक गाडी कर्जा र व्यक्तिगत कर्जामा बैंकहरुले कडाई गर्दा बैंकमा लगानीयोग्य पुँजी सहज हुँदै गएको छ ।

यस्तै बैंकहरुले धमाधम बोलाएर शेयर ऋण दिन थालेपछि ठूलो कारोबारीलाई सहजता भएको छ। जसले शेयर बजारका लगानीकर्ताको आत्मबल बढ्दै गएको छ। दोस्रो त्रैमास नजिकिँदै गएपछि वाणिज्य बैंकहरुको कमाईको आंकलनले विशेषगरि वाणिज्य बैंकहरुको कारोबार बढेको छ।
चार कम्पनीको शेयरमा सर्किट लाग्दा बोर्टलर्स नेपाल तराईकाले गुमाए।

नेप्से उच्च अंकले बढेसँगै मंगलबार चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सिभिल लघुवित्त, वोमी, सेन्ट्रल फाइनान्स, र सबैको लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो। सपोर्ट माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी संस्थापक, दिब्यश्वरी हाइड्रोपावर, गुँराश लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ।

उता मंगलबारको बजारबाट बोर्टलर्स नेपाल तराईका शेयरधनीले सबैभन्दा धेरै ३.९३ प्रतिशतले गुमाएका छन्। नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घट्दा पञ्चकन्या माई, सिनर्जी पावर, विशाल बजार कम्पनी, र एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीले २ प्रतिशत बढीले घटेको छ ।