बीमा समितिद्धारा सम्पती शुद्धीकरण कार्ययोजना कार्यान्वयन गर्न निर्देशन

0
Shares

बीमा समितिले इजाजत प्राप्त सबै बीमा कम्पनीहरु तथा बीमक संघलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको छ।

समितिद्धारा पुस २१ गते जारी भएको निर्देशनमा समितिले सम्पती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न दोस्रो राष्ट्रिय रणनिति तथा काययोजना (२०७६–२०८१) पारित गरि लागू गरिसकेको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्न समितिले निर्देशन दिएको हो।

राष्ट्रिय रणनीति तथा कार्ययोजनामा बीमा क्षेत्रको लागि तोकिएको जिम्मेवारीलाई तोकिएको जिम्मेवार र सहयोगी निकायहरुबाट एकापसमा समन्वय गरी निर्धारित अवधि भित्रै सम्पादन गरी आवधिक प्रतिवेदन समितिमा बुझाउन समेत निर्देशन दिइएको छ।

यसले बीमाका जोखिमका क्षेत्रहरु पहिचान तथा मूल्याङ्कन गर्न सहयोग पुगी बीमा क्षेत्रलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको माध्यम बनाउनबाट रोक्न सहयोग पुग्ने समितिका अध्यक्षद्धारा जारी गरिएको निर्देशनमा उल्लेख छ।

बीमाका जोखिमका क्षेत्रहरु पहिचान तथा मूल्याङ्कनसँगै सुधारका कार्यहरुलाई थप तिव्रता दिई राष्ट्रिय रणनीतिको प्रभावकारी कार्यान्वयनको लागि विभिन्न नीतिगत, कानुनी एवं संस्थागत व्यवस्थाहरु लागू गर्न आवश्यक देखिएको समितिले जनाएको छ।