राष्ट्रियसभाको विहीबारको बैठकले दुई विधेयक पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित भएको हो ।
विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए ।
हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए । कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।
डा खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि उपयोगी हुने विश्वास व्यक्त गरे । यसैबीच आजकै बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट डा खतिवडाले उक्त विधेयक पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ ।
प्रतिक्रिया