प्राइम र कैलाशको गाभ्ने/गाभिने प्रस्ताव पारित

0
Shares

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीचको एक्वायर सम्झौतालाई अन्तिम रुप दिन दुबै बैंकले शुक्रबार साधारण सभा सम्पन्न गरेका छन् । प्राइमले कैलाशलाइ खरीद गर्ने तथा कैलाशले प्राइममा गाभिने प्रस्ताव सधारण सभाबाट सर्वसम्मतिले अनुमोदन गरेका छन्।

दुबै संस्थाको गाभ्ने गाभिने प्रस्ताव सहित सेयरधनीलाइ लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । प्राइमको साधारणसभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग तथा कैलाशको अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो ।

बैंकको सभाले कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेसियो दिने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, तथा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

कैलाश विकास बैंकको साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्राइम बैंकले एक्वायर गर्ने सम्झौता पछि गत असार २२ गते देखि कैलाशको शेयर कारोबार रोक्का छ ।

कैलाश विकास बैंकलाई प्राप्ती पश्चात प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँ पुग्नेछ ।