बन्यो १७ करोड लिटर पानी प्रशोधन गर्ने मेलम्ची खानेपानी केन्द्र

0
Shares

मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माण भएका दुबैं खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । खानेपानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सो केन्द्रको निमार्ण गरिएको हो।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो। केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

यहाँ रहेका प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ। तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिना मात्रै सम्पन्न भएको छ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ। उनले भने “वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ।”

आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्का मार्फत काम अघि बढाएको थियो। सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ।

आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।