प्रदेश नं ३ को नाम र राजधानीको निर्णय आज हुँदै

0
Shares

प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रतिनिधिसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।

हेटौंडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्। उक्त प्रस्तावलाई समर्थन गर्नुहुनेहरुमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ छन्।

यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन्। समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य रहेका छन्।

सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताए।

यसैगरी प्रतिपक्ष नेपाली कांग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रदेश सभामा नेकपाका ८०, काग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् । हेटौंडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।

काभ्रेपलाञ्चाक जिल्लालाई राजधानी बनाउाुपर्ने पक्षमा विवेकशील नेपाली दल 

नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौंडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको छ ।

स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा शुक्रबार अबेर सर्वदलीय बैठक बसेको थियो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो।

बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा यो वा त्यो दल भन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताए।

उनले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेर जान अनुरोध गरेका थिए।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको बताए। “राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ”, उनले भने । बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौंडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताए।

नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्नेबेला भएको बताए। “हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तरक्रियाबाट एउटै धारणा बनाएका छौँ, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ”, उनले भने।

नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताए। उनले नामसमेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौंडा र नाम वाग्मती आफूहरुलाई स्वीकार्य हुने बताए। राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्वका हिसाबले हेटौंडा राजधानी उपयुक्त हुने बताइन्।
राप्रपा संयुक्तका रीना गुरुङले आफूहरु शुरुदेखि नै हेटौंडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने बताइन्।

छलफलमा विवेकशील नेपाली दलका रमेश पौडेलले आफ्नो दलले कसैले पनि नउठाएका बेला प्रदेश नं ३ को नाम वाग्मती प्रदेश हुनुपर्छ भनेर आवाज उठाउने काम गरेको भन्दै नाममा आपत्ति नरहेको र राजधानीका सम्बन्धमा काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने आफनो पार्टीको धारणा रहेको बताए।  त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले आफ्नो दलले नामाङ्कनको बारेमा विगतमै धारणा बनाइसकेकाले वाग्मतीमा समर्थन गर्ने जनाइन्। राजधानीको सम्बन्धमा भने काभ्रेपलाञ्चाक लाई बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन्।