नेपाल एसबीआई बैंकलाई २ अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

0
Shares

नेपाल एसबीआई बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाको पदवहाली ग्रहणपछि  पहिलो निर्णयको रुपमा नेपाल एसबीआई बैंकलाई ‘१०% नेपाल एसबीआई बैंक ऋणपत्र २०८६’ निष्काशनका लागि स्वीकृति प्रदान गरेका थिए ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई भने बैंकले व्यक्तीगत तबरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । जसको बिक्री प्रबन्धकमा कुमारी क्यपिटल रहेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।

बैंकले आफ्नो पूँजीकोष बलियो बनाउन साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र बिक्री गनुपर्ने व्यवस्था गरेपछि बैंकहरुले दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन्।