शेयर बजारमा साढे सात महिना यता कै ठूलो रकमको कारोबार

0
Shares

शेयर बजारमा सोमबार १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छद। यो कारोबार गत जेठ १६ गतेपछिको ठूलो कारोबार हो। सो दिन एक अर्ब ५२ करोड ८१ लाखको शेयर कारोबार भएको थियो।

बैंकिङ्ग प्रणालीमा तरलता, धितोपत्र बोर्डमा नयाँ नेतृत्व र अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल निरन्तर बढ्दा कारोबारसँगै नेप्से सूचक पनि बढ्दै गइरहेको छ। अंग्रेजी नयाँ वर्षको सुरुवात यता नै नेप्से सूचक १०५ अंकले बढीसकेको छ। डिसेम्बर ३१ तारिकका दिन नेप्से ११६६ अंकमा बन्द भएको थियो।

सोमबार नेप्से सूचक १५.१४ अंकले बढेर १२७० दशमलव ८६ बिन्दुमा पुगेको छ। यसदिन १८३ कम्पनीको ५५ लाख १८ हजार ६३६ कित्ता शेयर खरीद बिक्री भएका छन् ।

यसदिन नेपाल टेलिकमको सबैभन्दा धेरै ६ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंकको पनि ५ करोड बढीको शेयर कारोबार भयो।

प्रभु बैंक, एनएमबि बैंक, प्राइम बैंकको ४ करोड बढीको शेयर खरीद बिक्री भएको बजारमा डिप्रोक्स लघुवित्त, नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र फस्ट माइक्रोफाइनान्स कम्पनीको साढे ३ करोड बढीको शेयर कारोबार गर्दै शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।
कारोबारमा आएको १२ उपसमूहको सूचकमध्ये लघुवित्त र उत्पादनमूलक सूचक बाहेक बाँकी १० सूचक उकालो लागेका छन्। जलविद्युत्त उपसमूहका सूचक सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ। यस्तै ब्यापार ३.६६ प्रतिशत, वित्त १.८२ प्रतिशत, बैंकिङ्ग १.३३ प्रतिशत र अन्य १.०४ प्रतिशतले बढेको छ ।

निकै उतारचढावपूर्ण रहेको सोमबारको बजारमा शेयरमूल्य बढ्नै क्रम्पनीको अवस्था निरन्तर परिवर्तन भए। शेयरमूल्य बढेको मौका छोपेर मुनाफा भएको शेयर बेच्दै अण्डरभ्यालु भएका शेयरमा खरीद चाप बढ्दा कारोबार रकम उच्च बढेको हो।

 

सोमबारको बजारमा घोडीघोडा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ। सानिमा माई हाइड्रपावरको ९.७८ प्रतिशतले बढ्दा चिलिमे जलविद्युत, राधी विद्युत कम्पनीको ८ प्रतिशतले बढेको छ।

उता सिभिल लघुवित्तको शेयरमूल्य यसदिन सबैभन्दा धेरै ५.९८ प्रतिशतले घटेको छ। गणपति माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, र समीट माइक्रोफाइनान्सको शेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ।