अमेजनका मालिक जेफ बेजोसले भारतमा एक खर्ब बढी लगानी गर्ने

0
Shares

विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसले भारतमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएका छन्।

अमेजनका मालिक जेफ बेजोस्‌ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरे छन्।

बेजोस्‌ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्ब अमेरिकी डलर अर्थात एक खर्ब १३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने बताएका हुन्।

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै बेजोसले एक्काइसौँ शताब्दी ‘भारतको शताब्दी’ हुने पनि बताए।

अमेरिकी खर्बपति बेजोस तीन दिनका लागि भारतमा पुगेका हुन्। साना व्यापारीहरूले बेजोसको विरोध गर्ने ठानिएको छ।

उनीहरूले अमेजनले केही ठूला विक्रेताहरूलाई मात्रै प्रोत्साहन गरेर र ठूलो छुटमा सामान उपलब्ध गराएर साना व्यापारीहरूलाई असर गरेको आरोप लगाएका छन्।

अमेजनले भने ती आरोपहरूको खण्डन गरेको छ।

बेजोसले अमेजनले सन् २०२५ सम्ममा भारतमा बनेका १० अर्व डलर बराबरका सामान निर्यात गर्ने र ५ दशमलब ५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरिसकेको पनि बताए।