कृषि विकास बैंकलाई साढे दुई अर्बको ऋणपत्र जारी गर्न बोर्डको अनुमति

0
Shares

कृषि विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट साढे दुई अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले ऋणपत्र निष्कासन गर्नको पुस २९ गते अनुमति दिएको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता “एडिविएल कृषि विकास बैंक लि.२०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले एक हजार रुपैयाँका दरले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ ।

उक्त ऋणपत्रमा वार्षिक १०.३५ प्रतिशत व्याजदर भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकको ऋणपत्रको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्रदान गरेको छ । यस रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जनाउँदछ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षभित्र हरेक वाणिज्य बैंकले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंक ऋणपत्र निष्काशनमा जुटेको हो। मर्जरमा जाने संस्थाले भने ऋणपत्र निष्काशनका लागि थप एक वर्षको समय पाउनेछन्।

धितोपत्र बोर्डका अनुसार चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा १६ अर्व ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति लिएका छन् । नेपाल राष्ट्र बैंकले क वर्गका वैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेसँगै प्राथमिक बजारमार्फत ऋणपत्र निष्काशनमा बृद्धि देखिएको हो ।