वर्षाले मौसम प्रतिकूल बन्दा आन्तरिक उडान प्रभावित

0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। लगातारको वर्षाले आन्तरिक उडान प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए।

आन्तरिक तर्फ बिहान केही उडान भए पनि अहिले आंशिक रूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाई छ।

बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौं सहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन्। मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ १० हेलिकोप्टर सहित २० तथा अन्तर्राष्ट्रिय तर्फ तीन नेपाली सहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।