नेप्से करिब १०० अंक बढ्दा कारोबारमा ५८ प्रतिशतको वृद्धि

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा ९७.११ अंकको उछाल आएसँगै सातामा हुने शेयर कारोबार रकम ५७.९० प्रतिशतले वृद्धि भई ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ पुगेको छ। यस साता २ करोड ११ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ।  गत साता १ अब ४६ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बराबरको किनबेच भएको थियो।

यस साता नेप्सेमा रकम साप्ताहिक कारोबारमा हालसम्मकै उच्च कारोबारको रेकर्ड हुनसक्ने एक लगानीकर्ताले नोटबजारलाई बताए। अन्य समयमा सातामा दुई दिनमात्रै एक दुई अर्ब माथिको कारोबार हुने गरेकोमा बुधबार बाहेक यस साता चार दिन एक अर्ब बढीको शेयर खरीद बिक्री भएको हो।

सातामा कारोबार भएको रकमका आधारमा एनआईसी एसिया बैंकको अग्रता देखिएको छ। एनआईसी एसिया बैंकको मात्रै २६ करोड ७६ लाख ३० हजार रुपैयाँ बढीको शेयर कारोबार भएको हो।

यस्तै शिवम् सिमेन्टस् लिमिटेडको २२ करोड ५३ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२ करोड २६ लाख र हिमालयन डिष्टिलरीको २१ करोड ९ लाखको कारोबार भएको छ।

नागरिक लगानी कोष, प्रभु बैंक, डिप्रोक्स लघुवित्त, एनएमबि बैंक, नेपाल बैंक र एनसीसी बैंक पनि शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्। सबैभन्दा कम कारोबार भएको एनसीसी बैंकको १३ करोड ३४ लाख बढीको शेयर किनबेच भएको छ।

शेयर बजार पूँजीकरणमा आधारमा नेपाल टेलिकम नै शिर्ष स्थानमा रहेको छ। टेलिकमको कूल बजार पूँजीकरण ९५ अर्ब ८५ करोड रहेको छ।

यसैगरि नबिल बैंकको ७५ अर्ब ७४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५८ अर्ब १६ करोड, नेपाल लाईफ ५७ अर्ब १० करोड, ग्लोबल आईएमई बैंक ५५ अर्ब ९७ अर्ब, एभरेष्ट बैंक ५३ अर्ब १ करोड, एनएमबि बैंक ५२ अर्ब ३१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक ५० अर्ब ८७ करोड, हिमालयन बैंक ४९ अर्ब ३३ करोड र एनआईसी एशिया बैंकको ४६ अर्ब १५ करोडको बजार पूँजीकरण कायम भएको छ।