दुई बीमा कम्पनीले हकप्रद बेचेर तोकिएको चुक्ता पूँजी कायम गर्ने, बोर्डले दियो अनुमति

0
Shares

 

नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद बिक्री गर्न अनुमति दिएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले धितोपत्र बोर्डबाट हकप्रद बिक्रीको अनुमति पाएका हुन् ।

दुवै कम्पनीले ६० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति पाएका छन् । हकप्रद बिक्रीपछि दुवै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम कायम हुनेछ । समितिका अनुसार निर्जीवन बीमा कम्पनीले न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्नेछ ।

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँ छ । जस अनुसार कम्पनीले ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सले पनि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डबाट अनुमति पाएको छ ।

हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।