कृषि विकास बैंकको करअघिको नाफा दुई अर्ब बढी, निष्कृय कर्जामा सुधार

0
Shares

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले पुस मसान्त सम्ममा करअघि सो नाफा आर्जन भएको जनाएको छ।

गत आवको दोस्रो त्रैमासमा बैंकको कर अघिको मुनाफा १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले आफ्नो मुनाफा १६.९९ प्रतिशतले वृद्धि गरेको बैंकको ५३ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले बताए।

मुनाफामा आएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ८२ पैसाले बढेर २८ रुपैयाँ ३७ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको वार्षिक इपिएस २३ रुपैयाँ ५५ पैसा रहेको थियो ।

यस्तै बैंकले आफ्नो खराब कर्जा अनुपातमा समेत सुधार गरेको छ। गत आवको यसै अवधिमा४.४२ प्रतिशत निष्कृय कर्जा रहेकोमा ०.८३ प्रतिशतले घटाएर ३.५९ प्रतिशतमा झार्न बैक सफल भएको छ। गत आवको यसै अवधिमा ४ अर्ब २३ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा ४८ करोड रुपैयाँले झरेर ४ अर्ब २३ करोड रुपैयाँमा कायम भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

चालु आवको ६ महिना अवधिमा बैंकले १ खर्ब २७ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ग्राहकमा १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप संकलनमा १५.४४ र कर्जा लगानीमा १०.२३ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

एक हजार होमस्टेलाई कर्जा, साढे पाँच अर्ब सहुलियतपूर्ण कर्जा लगानी

पत्रकार सम्मेलनमा बैंकका सीइओ अनिल कुमार उपाध्यायले भ्रमण वर्ष सफल पार्नका लागि बैंकले होमस्टे एशोसिएसन नेपालसँग सम्झौता गरि एक हजार भन्दा बढी होमस्टे निमार्णका लागि कर्जा प्रवाह गर्ने जानकारी दिए। सम्झौता अनुसार यस्तो कर्जा रकम २० लाख रुपैयाँभन्दा बढीको कर्जा प्रवाह हुने बताईएको छ।

कृषि विकास बैंक सहुलियतपूर्ण कृषि अनुदान कर्जामा पनि अगाडि रहेको पाइएको छ । बैंकले गत एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा २ हजार ५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरिसकेको बैंकले जनाएको छ।

बैंकले उक्त योजनालाई प्रभावकारी बनाउन प्रदेश कृषि मन्त्रालय, ८ ओटा जिल्लामा ग्रामीण पद्दती केन्द्र, ७ ओटा जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ तथा युवा परिषदसँग सहकार्य गरी अघि बढीरहेको सीईओ उपाध्यायले जानकारी दिएका छन्।

लाभांश बढाउँदै जाने बैंकको घोषणा

बैंकले आगामी वर्षहरुमा वितरण गर्ने लाभांश बढाउँदै जाने घोषणा गरेको छ। यसअघि १५ प्रतिशत लाभांश बाँड्दै आएको बैंकले केही वर्षयता आफ्नो लाभांश दोब्बर बनाएको छ।

बैंकले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको छ। सो भन्दा अघिल्लो वर्ष बैंकले ६ प्रतिशत र बोनस र १५.०५ प्रतिशत नगद गरि २१.०५ प्रतिशत लाभांश बाँडेको थियो।