सात सय त्रिचालिस स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति, दशमा विस्तार हुने बाँकी

0
Shares

राष्ट्र बैंकको हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य नजिकिएको छ। केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०७६/०७७ को पाँच महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन अनुसार देशको ७४३ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच कायम भएको छ।

चालु आर्थिक वर्षको पाँच महिना सम्ममा अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकको पहुँच विस्तार हुन बाँकी रहेको छ। केन्द्रीय बैंकका अनुसार प्रदेश नम्बर ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ। राष्ट्र बैंकको अनुसार सात वटा प्रदेश मध्ये प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेशको एक एक स्थानीय तहमा पहुँच पुग्न बाँकी रहेको छ।

यस्तै प्रदेश नम्बर ३ (बाग्मति) को दुई स्थानीय तह र सुदूर पश्चिमको चार स्थानीय तहमा वाणिज्य बैंकको शाखाको पहुँच पुग्न बाँकी छ। २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार २९७ वटा पुगेको छ। गत असार मसान्तको तुलनामा ६११ ले बढेको हो । असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ६८६ रहेको थियो।

यस्तै राष्ट्र बैंकले २०७६ मंसिर मसान्तमा वाणिज्य बैंकको शाखा संख्या ३ हजार ९५१, विकास बैंकको १ हजार २९०, लघुवित्त वित्तीय संस्थाको ३ हजार ८२७ र वित्त कम्पनीको २२९ गरी कूल ९ हजार २९७ वटा शाखा पुगेको जनाएको छ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १६५ रहेको छ। जसमध्ये २७ वटा वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन्।