ग्लोबल आइएमई बैंकको सर्किट मूल्यमा २० लाख कित्ता माग

0
Shares

साढे ६ महिनापछि कारोबार खुलेको ग्लोबल आइएमई बैंकको साढे ३६ लाख कित्ता शेयरको माग भएकोमा कारोबारको आधा घण्टामा जम्मा ५६० कित्ता शेयर मात्र खरीद बिक्री भएको छ ।

बैंकको सर्किट मूल्य २७७ रुपैयाँमा २० लाख कित्ता बढी माग देखिँदा २७३ मा पनि लगानीकर्ताले १२ लाख कित्ता बढी खरीद गर्न माग अर्डर राखेका छन्।

कारोबार भएको कित्ता पनि १०-२० कित्ताका दरले मात्र भएको छ । एउटा मात्र २४९ को दरले ४६० कित्ता कारोबार भएको देखिएको छ।

 

नेप्से बुलिस ट्रेण्डमा गइरहेको बेला मर्जरका कारण रोक्का रहेको बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुलेकाले पनि खरीद चाप उच्च देखिएको हो ।

नेप्सेले मर्जरमा जाने संस्थाको बजार पूँजीकरण र शेयर स्वापबाट कायम हुन आउने शेयरसंख्यालाई गणना गरि समायोजित शेयरमूल्य निर्धारण गर्ने गरेको छ । यसअनुसार नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रतिकित्ता २५२ रुपैयाँ ४७ पैसा ओपनङि रेञ्ज तोकेको थियो। सुरुका केही कारोबार मूल्य घटाएर भएपनि बिक्रीकर्ता नभएकाले बैंकको शेयरमूल्य बढ्ने आंकलन गरिँदै आइरहेको छ ।

शेयर स्वापका कारण मूल्य समायोजन भई घटेकाले पनि बैंकको शेयरमूल्य बढ्ने अपेक्षाका कारण शेयर बिक्री गर्ने लगानीकर्ता भेटिएको छैन।

यसभन्दा अघि असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभन्दा अघि ग्लोबलको प्रतिकित्ता २९५ र जनताको बैंकको प्रतिकित्ता २१४ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो ।

गत साता मात्र बैंकले जनतातर्फको ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । ग्लोबलको एक सय बराबर जनताको ८५ कित्ताको दरमा शेयर स्वाप काय गरिएको थियो ।

मर्जर पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार ९ सय रुपैंया पुगेको छ । योसँगै नेपाल स्टक एक्सचेञ्जमा वाणिज्य बैंकबाट सबैभन्दा धेरै संख्यामा शेयर सूचीकरण गराउने बैंक ग्लोबल आइएमई भएको छ ।