सभामुखमा नेकपाबाट सापकोटाको उम्मेदवारी दर्ता

0
Shares

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ।

सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन्। सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् ।

संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।  तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिनुभयो । “सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ”, उनले भनिन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ ।