हिमालयन बैंकको साधारण सभा आह्वान, सञ्चालक निर्वाचन र लाभांश अनुमोदन मुख्य प्रस्ताव

0
Shares

हिमालयन बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बैंकको २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभामा बैंकले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकहरुको निर्वाचन सहित गत आवको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदनलाई विशेष प्रस्तावको रुपमा राखेको छ ।

बैंक सञ्चालक समितिको बैठकले यसअघि नै गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद गरि कूल २२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ । सभाबाट यस प्रस्ताव अनुमोदन हुनेछ ।

यसैगरि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा स्वतन्त्र सञ्चालक नियुक्ति र कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको अनुमोदनको विशेष प्रस्ताव पनि सभामा राखिएको छ ।

माघ १३ गतेदेखि २९ गतेसम्म बैंकले सधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार माघ १२ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन पाउनेछन्।

माघ ७ गते मंगलबार बैंकको शेयर प्रतिकित्ता ५७२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ।