पुर्नबीमा कम्पनीले घटायो जारी पूँजी, आईपिओपछि चुक्ता पूँजी दश अर्ब

0
Shares

उच्च अदालत पाटनको स्वीकृति अनुसार नेपाल पुर्नबीमा कम्पनीले जारी पूँजी १५ अर्बबाट घटाएर दश अर्ब कायम गरेको छ । गत माघ १ गते उच्च अदालत पाटनको फैसला अनुसार जारी पूँजी घटाएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रवन्धपत्रमा भएको संशोधनको अभिलेखका लागि कम्पनी रजिष्टार कार्यालयमा पेश गरेको निवेदनमा कारवाही हुँदा उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको थियो । कम्पनीको २०७५ पुस १३ गते बसेको विशेष साधारणसभाले जारीपुँजी १५ अर्बबाट घटाएर १० अर्ब रुपैयाँमा झार्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनपछि पुँजी बढेर १० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ।

आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सकेको छ।

कम्पनीमा सरकारको ४३.५५, जीवन बीमा कम्पनी तथा सर्वसाधारणको १८ र निर्जीवन बीमा कम्पनीहरुको ३८.३९ प्रतिशत छ ।