सिनर्जी पावरको नाफामा उल्लेखनिय बढोत्तरी, रिजर्भ कोषमा पनि सुधार

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ करोड ६८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.७७ प्रतिशत बढी हो।

गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीको नाफा २ करोड ९४ लाख २४ हजार रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष दोस्रो त्रैमासिकमा ३ करोड ७३ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै सञ्चालन तथा अन्य खर्च नियन्त्रण गरिएकाले नाफामा सुधार भएको कम्पनीले जनाएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा १९.२० प्रतिशत अर्थात २ करोड १८ लाख २१ हजार रुपैयाँ बढेको छ । 

कम्पनीले दोलखामा सञ्चालित १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले उत्पादन गरेको विद्युत बिक्री गरी १३ करोड ५४ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा ११ करोड ३६ लाख २० हजार रुपैयाँ मात्र बिजुली बेचेर नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७० करोड रूपैयाँ छ । तर कम्पनीको जगेडा कोष ६४ लाख ३९ हजार ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको जगेडाकोष ९ करोड ४६ लाख ३९ हजार ऋणात्मक थियो। जगेडा ऋणात्मक भएपनि उच्च सुधार देखिएको छ ।

कम्पनीको वार्षि्किकरण नगरिएको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा तथा पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.८ रुपैयाँ रहेको छ ।