लगातार चौंथो दिन शेयर बजारमा अर्ब बढीको कारोबार

0
Shares

पछिल्लो समयमा शेयरबजारप्रति लगानीकर्ता आशावादी बन्दा दैनिक उच्च रकमको कारोबार हुन थालेको छ । यो साता मात्रै लगातार चौंथो दिन शेयर बजारमा एक अर्ब बढीको शेयर किनबेच भएको छ ।

बुधबार बजार बन्द हुन एक घण्टा अगावै कारोबार रकम अर्ब बढी पुगेको छ । बुधबारको कारोबारमा झण्डै आधा हिस्सा भने ग्लोबल आइएमई बैंकको छ । ग्लोबल आइएमई बैंकको दिउँसो २ बजेसम्म ५० करोड बढीको शेयर किनबेच भईसकेको छ ।

कारोबार रकमले साथ दिँदै गर्दा बजारमा भने केहि करेक्सन देखिएको छ । बुधबार यो खबर तयार पार्दासम्म नेप्से ५ अंक बढीले घटेर १३१५ अंकमा झरेको छ । १७४ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५ करोड बढीको शेयर किनबेच भएको छ । म्युचुअल फण्ड र जीवन बीमाका बाहेक अन्य सबै समूहका सूचक घटेका छन् । कन्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै दश प्रतिशतले घटेको छ ।

गत आइतबार एक अर्ब ५१ करोड, सोमबार एक अर्ब ९७ करोड र मंगलबार एक अर्ब ५१ करोड बढीको शेयर किनबेच भएको थियो । बुधबार दिउँसो २ बजेसम्म एक अर्ब ५ करोड बढीको कारोबार भएको छ । अझै करिब एक घण्टा कारोबारको अवधि बाँकी नै छ ।