सनराइज बैंक र सिर्जना फाइनान्सले गरे मर्जर प्राप्ति सम्झौता

0
Shares

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने भएको छ । दुबै संस्थाका अध्यक्षले माघ ८ गते बुधबार एक आपसमा मर्जर प्राप्तिमा जाने विषयमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त गरी देशभर १३० वटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको सनराइज बैंकले मोरङ्ग, सुनसरी र सप्तरी गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेको हो। विराटनगरमा प्रधान कार्यालय रहेको फाइनान्सले २१ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनको आधारमा शेयर स्वाप रेसियो निर्धारण हुने सम्झौता भएको छ ।

डिडिए प्रतिवेदन प्राप्त भएपछि दुवै पक्षको संचालक समिति तथा संयुक्त समितिमा छलफल गरी शेयर स्वाप प्रतिशेयर मूल्यलाई साधारण सभाबाट अनुमोदन भएपछि  विद्यमान सिर्जना फाइनान्सका शेयरधनीहरुलाई शेयर स्वाप अनुसार कायाम हुन आउने शेयर दिइने बताइएको छ ।

गत पुस मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइजको कूल निक्षेप करिब ८५ अर्ब, कर्जा लगानी करिब ७८ अर्ब तथा सिर्जना फाइनान्सको निक्षेप७ अर्ब ३१ करोड तथा कर्जा लगानी करिब ६ अर्ब ३१ करोड रहेको छ। एकीकृत संस्थाको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ।