शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १ हजार ३०० बिन्दु तल झर्यो

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ। तरलताको सहजताले उच्च बढेको नेप्सेमा पछिल्लो दुई दिन गिरावट आएको छ। यसअघि मंगलबार समान्य बढेको नेप्से सोमबार पनि उच्च अंकले घटेको थियो।

पछिल्लो दुई दिनमा नेप्से २२.९६ अंक घट्दा परिसूचक १ हजार ३०० बिन्दु तल (१२९७.४८ अंकमा) झरेको हो । बिहीबारको कारोबारमा नेपाल लाईफ र ग्लोबल आईएमई बैंकको उच्च कारोबार भएको छ । यसदिन नेपाल लाईफको १८ करोड ४० लाख र ग्लोबल आईएमई बैंकको १५ करोड ५२ लाखको शेयर खरीद बिक्री भएको छ ।

यसैगरि नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेका इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, ग्रामीण विकास बैंक, प्राइम लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, र लाईफ इन्स्योरेन्स कर्पोरेसन शिर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन्।

कारोबारमा आएका जीबन बीमा र अन्य उप समूहका परिसूचक बाहेक बाँकी सबै १० वटै सूचक घटेका छन्। यसदिनको कारोबारमा बैंकिङ्ग, ब्यापार, होटल, विकास बैंक, जलविद्युत्त, वित्त, निर्जीबन बीमाको सूचक १ प्रतिशत बढीले घटेको छ ।

माघ ९ गते बिहीबारको बजारमा सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेको छ भने सिद्धार्थ इक्वीटी फण्डको इकाईको मूल्य सबैभन्दा बढी ६.९६ प्रतिशतले घटेको छ ।