लघुवित्तमा भइरहेका गलत काम रोक्न गभर्नर नेपालको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन ।

बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को उद्घाटन गर्दै उनले भने, “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।”

डा. नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।

“संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्”, उनले भने, “गरिबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन्, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।”

नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले साना पूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए । जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट ससाना कर्जा पाएका मानिसले व्यावसायिक रुपमा सफलता हासिल गरेको बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरुपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरुपमा कर्जा पाउन नसकेको बताए ।