टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

0
Shares

टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५०० भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन्।

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो।

स्वास्थ्य मन्त्री फहरेटिन कोकाले मृत्यु भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएकोे जानकारी दिए।

त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गरे। उनले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिए।

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो। “हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने । उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो ।

भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ। भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन्।