नयाँ लघुवित्तको उद्घाटनकै दिन गभर्नरले भने, ‘मर्जरका लागि जोडी खोज्नुस्’

0
Shares

सरकारले बैंक तथा वित्तीय संस्था मर्जरको नीतिलाई प्रेरित गरिरहेका बेला भर्खरै खुल्दै गरेका संस्थाहरुलाई समेत मर्जरको दबाव पर्न थालेको छ । पछिल्लो समयमा लघुवित्त कम्पनीहरुको नियमन कडाई गर्दै आएको राष्ट्र बैंकले खुल्दै गरेका लघुवित्तहरुलाई पनि मर्जर जान जोड दिन थालेको छ ।

शनिबार देउराली लघुवित्त वित्तीय संस्थाको औपचारिक संचालनको शुरुवात गर्दे नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार हुन र अनुकूलको संस्थाको खोजी गर्न निर्देशन दिएका छन् ।

यसअघि लघुवित्त कम्पनीहरुलाई धमाधम लाइसेन्स वितरण गरेको राष्ट्र बैंकले पछिल्लो समयमा मर्जरको दबाव दिन थालेको छ । जसले गर्दा एकदर्जन बढी लघुवित्त मर्जरको प्रक्रियामा गइसकेका छन् ।

सो अवसरमा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थताहरुलाई सुरक्षित कर्जा लगानी गर्न सुझाएका छन् । बैंक तथा वित्तीय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको निक्षेपलाई सुरक्षित राख्ने दायित्व बैंकहरुकै भएको बताए ।

त्यस्तै उनले ५ वर्ष अगाडी आफू राष्ट्र बैंकको गभर्नर भएर आउँदा ६५ प्रतिशत जनता वित्तीय पहुँच बाहिर रहेको र हाल ६१ प्रतिशत जनता वित्तीय पहुँचमा पुगेको जानकारी गराउँदै बाँकी ३९ प्रतिशत जनतालाई वित्तीय साक्षरता प्रवर्द्धनका लागि लघुवित्त वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले नागरिकमा वित्तीय पहुँच वृद्धि गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ संरचना अनुसार सबै स्थानीय तहमा बाािण्ज्य बैंक र्पुयाउने लक्ष्य अनुसार हालसम्म ७५३ स्थानीय तह मध्ये ७४३ ओटा स्थानीय तहमा बाणिज्य बैंक पुगेको जानकारी गराए।

बुटवल उपमहानगरपालिका–४ पाल्पारोड केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तलाई नेपाल राष्ट्र बैंकबाट प्रदेश नं ५ कार्यक्षेत्र रहेको घ वर्गको वित्तीय संस्थाको रुपमा रुपमा वित्तीय कारोबार गर्न गत मंसिर २५ गते इजाजतपत्र दिएको थियो । अधिकृतपूँजी ६ करोड, जारीपूँजी ४ करोड र चुक्तापूँजी ४ करोड रहेको कम्पनीले चुक्तापूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याएको जनाएको छ ।

हाल बैंकको केन्द्रीय कार्यालय र कार्यक्षेत्र भित्र गुल्मीको छत्रकोट, पाल्पाको रैनादेवी छहरा गाउँपालिका र रुपन्देहीको गैडहवा गाउपालिकामा शाखा कार्यालय सञ्चालन गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवालीले बताए।

उनकाअनुसार यसैमहिना भित्र कपिलबस्तुको बनगाई, नवलपरासीको सरावल र रुपन्देहीको कान्छिबजारमा शाखा बिस्तार हुनेछ। त्यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्ममा १२ शाखा कार्यालय सञ्चालन गर्ने लघुवित्तको योजना छ ।