सभामुख चयन आज, सर्वोच्चमा सापकोटा विरुद्धको सुनुवाई स्थगित

0
Shares

कृष्णबहादुर महरालाई संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि असोजदेखि रिक्त रहेको सभामुखविहीन प्रतिनिधिसभाले आज सभामुख चयन गर्दैछ ।

संघीय संसद् सचिवालयले माघ १२ गते आइतबार दिउँसो ३ बजे सभामुख चयन गर्न बैठक आह्वान गरेको छ । आइतबार सभामुख चयन सकिए लगत्तै उपसभामुख चयनका लागि पनि बाटो खुल्नेछ । सभामुद र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था भएपछि उप सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।

सभामुख चयनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाले मात्रै उम्मेद्धारी दिएका छन् । सभामुखका लागि कांग्रसले उम्मेदवारी नदिएकाले सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन्।

उता वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा हालेको रिटमाथिको सुनु्वाई स्थगित भएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेका सर्वोच्चका न्यायाधीस हरि फुँयालको एकल इजलासमा परेपछि अब अर्को पेशी तोकिने भएको छ। यसले सापकोटा निर्वाचित हुने निश्चित भएको छ ।

काभ्रे छत्रबासका अर्जुन लामाको हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख नबाउन माग गर्दै अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न सर्वोच्चमा रिट हालेका हुन्। सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उनले माग गरेका छन् ।

यसैगरि सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाउने घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पनि राजीनामा दिएका छन्। अग्नि सापकोटा प्रतिनिधि सभाको सभामुख बन्ने पक्का भएसँगै प्याकुरेलको राजीनामा आएको हो।