सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का, ६० करोडको स्रोत भेटिएन

0
Shares

व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ ।

सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् । उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको आजको नयाँपत्रिकामा नवराज मैनाली र पुष्प ढुंगानाले लेखेका छन्।

विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ ।

विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो । विभाग स्रोतका अनुसार विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्न सम्बन्धित व्यक्तिमाथि अन्य अभियोग हुनु जरुरी छ । सहकारी ऐनविपरीतका कसुरलाई सम्बद्ध अपराधका रूपमा मानेर छानबिन थालिएको विभागका अधिकारीहरू बताउँछन् । उनी आबद्ध सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत तिरिएको छैन । कर नतिरे पनि सम्पत्ति भने बढिरहेको छ । त्यसउपरसमेत राजस्व कार्यालयबाट छुट्टै छानबिन भइरहेको छ ।

उनले श्रीमतीको नाममा संस्थापक सेयर राष्ट्र बैंकको नियमविपरीत बिक्री गरेकोसमेत छानबिनमा खुलेको छ । गत साउनमा श्रीमतीको नामको करिब १० करोड रुपैयाँबराबरको सिभिल बैंकको सेयर बिक्री भएको थियो । श्रीमान् बैंककै अध्यक्ष भएको अवस्थामा सो सेयर बिक्री गर्न पाइँदैन । त्यसउपर समेत छानबिन चलिरहेको छ । अर्कोतर्फ, उनकी श्रीमती ०७४ सालसम्म सरकारी कर्मचारी थिइन् । सरकारी कर्मचारीले संस्थापन सेयर लिन नपाउने प्रावधान भए पनि लिएको खुलेको छ । तामाङ दोस्रो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट सभासद् भएका थिए ।