लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस प्रस्ताव

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले गत आर्थिक वर्षको २०७५/७६ को सञ्चित नाफबाट शेयरधनीलाई कूल १०.२३७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीको माघ १२ गते सम्पन्न २०२ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८८ करोड रुपैयाँको ९.७५ प्रतिशतल बोनस र बोनसको कर प्रयोजनका लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बीमा समितिको निर्देशन अनुसार जगेडा तथा कोषहरु कायम गर्नुपर्ने भएपछि आव २०७४/७५ को मुनाफाबाट भने कम्पनीले शेयरधनीलाई लाभांश वितरण गरेको थिएन। यसअघि भने कम्पनीले आव २०७३/७४ को नाफाबाट १२.८२ प्रतिशत नगद र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद वितरण गरेको थियो।

गत आर्थिक वर्षमा कम्पनीले रुपैयाँ २५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक २९ रुपैयाँ ५२ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो। सो अवधिसम्ममा इन्स्योरेन्सको बीमा कोषमा ५६ करोड ८९ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ४९ लाख रुपैयाँ र महा-विपत्ती कोषमा ५ करोड २८ लाख रुपैयाँ सञ्चित थियो।

हाल कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सको ९.७५ प्रतिशत बोनसपछि चुक्ता पूँजी ९६ करोड ५८ लाख रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले ८८ करोड पूँजीको २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ। बोनस र हकप्रद पश्चात इन्स्योरेन्सको पूँजी एक अर्ब १४ करोड ४८ लाख पुग्नेछ।