न्यून जोखिम आकर्षक ब्याज पाइने कृषि विकास बैंकको ऋणपत्र बिक्रीमा

0
Shares

कृषि विकास बैंकले आज माघ १४ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गरेको छ।

बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोहो। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्नेछ।

सात वर्ष अवधिको “१०.३५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” मा लगानीकर्ताले वार्षिक १०.३५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन्।

जुन अहिले मुद्दती निक्षेपमा पाइने ब्याजभन्दा धेरै हो। वाणिज्य बैंकहरुले हाल निक्षेपकर्तालाई मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशतभन्दा कम ब्याजदर दिइरहेका छन्।

ऋणपत्रमा फागुन १४ गते सम्म नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि अनलाईन आवेदन दिन सकिनेछ।

बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डबाट पुस २९ गते अनुमति पाएको थियो। एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपि एलए’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जनाउँछ।