६ महिनामा नै चुक्ता पूँजीभन्दा १.६१ गुणा धेरै नाफा कमाउने लघुवित्त चिन्नुहोस्

0
Shares

नेप्सेमा हालसम्म सूचीकृत नभएको एक लघुवित्तले आफ्नो स्थापना भएको एक वर्ष नपुग्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजीभन्दा १.६१ गुणा धेरै खुद नाफा आर्जन गरेको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीबन विकास लघुवित्त वित्तीय संस्थाले पुस मसान्तसम्म २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । लघुवित्तको चुक्ता पूँजी १४ करोड मात्र रहेको छ।

यसअनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२२ रुपैयाँ कायम हुने देखिन्छ।

पछिल्लो तीन महिनामा नै लघुवित्तले आफ्नो ११ करोड ८८ लाख ६७ हजार खुद नाफा कमाएको हो। चालु आवको प्रथम त्रैमासमा लघुवित्तले १० करोड ७० लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ९४ करोड रुपैयाँ कर्जा सापटी लिई १० अर्ब १९ करोड रुपैयाँ आफ्ना सदस्यहरुमा ऋण प्रवाह गरेको छ।

यसबाट कम्पनीले ४८ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी र २७ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। लघुवित्तको खराब कर्जा अनुपात ०.२५ प्रतिशत मात्र रहेको छ।

गत साउन १० गते सम्पन्न लघुवित्तको विशेष साधारण सभाले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरि पूँजी बढाउने तथा संस्थापक र साधारण शेयरधनीको लगानी अनुपात ७०:३० लाई परिमार्जन गरी क्रमश: ६७.५० र ३२.५० कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ।

यस पश्चात सर्वसाधारणमा लघुवित्तले ३२.५० प्रतिशत शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउनेछ।