आईपीओ निष्काशन गर्न लागेको रुदी ‘बी’ जलविद्युतबाट विद्युत उत्पादन शुरु

0
Shares

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ।

अहिले आन्तरिक उत्पादनको परीक्षण गरिरहेको आयोजनाले अर्को साताबाट विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत पठाइने जनाएको छ।

विन्ध्यबासिनी हाईड्रोपावर कम्पनीले प्रबर्द्धन गरेको ६.६ मेगावाटको रुदी बी दोस्रो जलविद्युत आयोजना हो । उक्त आयोजना निमार्ण गरिरहको बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले आयोजनास्थलका स्थानीयबासीलाई दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर तथा सर्वसाधारणलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर बिक्री गर्ने अनुमति मागेको छ ।

कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ’बि’ जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको छ।

सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान छ। आयोजनमा सानिमा बैंकको नेतृत्वमा पाँचवटा बैँकको ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ।

०७४ जेठबाट औपचारिक निर्माण थालेको आयोजना निर्माण २० महिनामा सकिएको हो । यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ।

यसअघि बिन्ध्यवासिनी हाइड्रो पावर कम्पनीले रुदी खोलामै ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।