गुठी संस्थानका प्रशासक र उप-प्रशासक ८ लाख घुस लिएको आरोपमा पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

उनीहरुले जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको प्रमाणको आधारमा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

अनुसन्धानको सिलसिलामा गुठी संस्थानका प्रशासक र उप-प्रशासकको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग आठ लाख घुस लिएको र उक्त रकम सेवाग्राही स्वयंलाई एवं निजको बैंक खातामा जम्मा गरी फिर्ता समेत गरेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो आठ लाख कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ ।

त्यस्तै प्रशासक नारायण चौधरी नेपाल सरकारका राजपत्राङ्कित बिशिष्ट श्रेणी सरहका सार्वजनिक संस्थानका प्रमुख रहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।