शेयर बजारमा उत्साह कायमै, १ अर्ब २९ करोडको कारोबार

0
Shares

पछिल्लो समयमा पनि शेयर बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको पाइएको छ । अघिल्लो साताको पाँचै करोबार दिन अर्बबढीको शेयर कारोबार भएको बजारमा यस साताको आइतबार र सोमबार करिब अर्बको कारोबार भएकोमा पछिल्लो दुई दिनमा पनि अर्ब माथिको शेयर कारोबार भएकाले पनि बजारमा उत्साह कायमै रहेको पाईएको हो।

बैंकिङ्ग प्रणालीमा अधिक तलरता रकम खुम्चिँदा पनि शेयर बजारमा उत्साह कायमै रहनुलाई सकारात्मक रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार बैंकिङ्ग प्रणालीमा १४ अर्ब मात्र अधिक तरलता रहेको जनाएको छ ।

बुधबार नेप्से परिसूचक स्थीर रहेको छ। सोमबार र मंगलबार बढेको सूचक बुधबार ०.२७ अंक घटेर १ हजार ३०५ दशमलव ८८ बिन्दुमा रहेको छ । यस दिन १७६ कम्पनीको २८ लाख ७८ कित्ता शेयर १ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका उप समूहका सूचक मिश्रित देखिएका छन्। कारोबारमा आएका १२ वटामध्ये ४ वटाकोे उपसूचकको इन्डेक्स मात्र सकारात्मक रहे।

लघुवित्तको परिसूचक सबैभन्दा धेरै ४.३४ प्रतिशत बढ्दा निर्जीवन बीमा, व्यापार र होटलको सूचक बढेको छ। बाँकी ८ उपसमूहका परिसूचक घटेका छन्। जसमा म्युचुअल फण्डको सबैभन्दा धेरै १.३८ प्रतिशतले ओरालो लाग्दा अन्य सात सूचक एक प्रतिशतभन्दा थोरै घटेका छन्।

बुधबारको कारोबारमा लगानीकर्ताहरुको आकर्षण लघुवित्त कम्पनीहरुतर्फ रह्यो। शिर्ष शेयरमूल्य बढ्ने दशमध्ये ९ लघुवित्त कम्पनी पर्नुले पनि यस उपसमूहका शेयर लगानीकर्ताले बढ्दो मूल्यमा पनि खरीद गरेको देखिन्छ। नाडेप लघुवित्त र नेरुडेको शेयरमूल्य ९ प्रतिशत बढीले बढ्दा ठूलो कारोबार हुने कम्पनीभित्र पनि ५ वटा कम्पनी लघुवित्त परेका छन्।

गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेको नाडेप लघुव्त्तिको आज शेयरमूल्य बढ्नुको साथै उच्च कारोबार समेत भएको छ । अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस बाँडेको यस कम्पनीले गत आवको मुनाफाबाट पनि आकर्षक लाभांश आंकलनका माझ लघुवित्तको शेयरको माग उच्च रहेको हो।

एकै दिनमा प्रतिकित्ता ६९ रुपैयाँ बढेर ७६२ रुपैयाँमा अन्तिम कारोबार भएको लघुवित्तको ६ करोड ३८ लाख बराबरको शेयर खरीद बिक्री भयो। यस्तै शिखर इन्स्योरेन्स ६ करोड २२ लाख, छिमेक लघुवित्त पाँच करोड ६५ लाख, नेपाल लाईफ ४ करोड ९० लाख, स्वावलम्बन लघुवित्त ४ करोड ३० लाखको कारोबार भयो। प्रभु बैंक, ग्रामीण विकास लघुवित्त, फस्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई बैंक र एभरेष्ट इन्स्यारेन्सको पनि उच्च कारोबार हुँदै शिर्ष दश कम्पनीभित्र समेटिएका छन्।

बुधबारको बजारबाट प्रोग्रेशिभ फाइनान्सको शेयरधनीले सबैभन्दा धेरै साढे ५ प्रतिशत गुमाएका छन्। यस्तै नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको ४.५८ प्रतिशतले घट्दा सांग्रीला डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर र समृद्धि फाइनान्स, युनाइटेड फाइनान्स, नबिल इक्वीटी फण्ड, एनआईबिएल प्रगति फण्ड, हिमालयन पावर पार्टनर र बेष्ट फाइनान्सको शेयरमूल्य ३ प्रतिशत बढीले घट्यो।