मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षामा ढिलाई हुने, तरलता संकुचनतर्फ

0
Shares

मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षामा ढिलाई हुने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको ६ महिनापछि गर्नुपर्ने मौद्रिक नीतिको समीक्षा ७ महिनापछि मात्र गर्ने भएकोे छ ।

राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक संकलन र अध्ययनको काम भइरहेकाले माघ महिनाभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न नसकिने अवस्था आएको हो ।

राष्ट्र बैंकले माघ महिनाभित्रै समीक्षा सार्वजनिक गर्ने तयारी गरेको भएपनि आवश्यक तथ्यांक उपलब्ध हुन नसक्दा फागुनको पहिलो सातासम्म धकेलिने भएको ति अधिकारीले बताए । 

अहिलेसम्म राष्ट्र बैंकले सरोकारवाला निकायहरुसँग औपचारिक रुपमा सुझाब संकलनको काम समेत सुरु गरेको छैन् । मौद्रिक नीति सार्वजनिक गर्नु पूर्व र अर्ध-वार्षिक समीक्षाका समयमा राष्ट्र बैंकले सरोकारवालहरुको राय लिने गरेको थियो ।

अर्थमन्त्रीसँगको छलफलका क्रममा बैकर्स संघले उठाएका मागहरु अर्ध-वार्षिक समीक्षा मार्फत सम्बोधन गर्ने राष्ट्र बैंकको तयारी भएपनि मुलुकको समष्टिगत आर्थिक अवस्थाको अध्ययन गरेर मात्र सम्बोधन गरिने ति अधिकारीले बताए ।

‘बैंकर्स संघले उठाएका मागहरु अध्ययनकै क्रममा रहेका छन् , अर्ध-वार्षिक समीक्षा मार्फत के कति सम्बोधन गर्न सकिने वा नसकिने हो, अध्ययन भइरहेको छ।’ उनले भने ।

तरलता संकुचनतर्फ

राष्ट्र बैंकका अनुसार यो साता वित्तीय प्रणालीमा तरलता अभाव गहिरिएको छ । माघ १५ गते बुधबारसम्म बैकिंङ प्रणालीमा अनिवार्य नगद अनुपात (सिआरआर) बाहेक १४ अर्ब ६३ करोड मात्र तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले नोटबजारलाई जानकारी दिए ।

पुस मसान्तमा कर तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा पुगेपछि तरलता अभाव सुरु भएको थियो । तरलता अभाव देखिएपछि राष्ट्र बैंकले गत माघ ७ गते एक साताका लागि २० अर्बको रिपो जारी गरेको थियो । उक्त रिपो माघ १४ गते परिपक्क भएपछि पुनस् तरलता अभाव भएको हो । राष्ट्र बैंकले गत साता २० अर्बको रीपो जारी गर्दा १० बैंकले ५४ आवेदन मार्फत २० अर्ब ९५ करोड माग गरेका थिए ।

तरलता अभाव गहिरिएपछि अन्तर बैंक ब्याजदर समेत साढे चार प्रतिशत नाघेको छ । तरलताको अवस्था संकट उन्मुख भएपछि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको साढे ६ महिनामा चार पटक रिपो जारी गरिसकेको छ । पहिलो पटक पुस २ गते २० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले पुस १६ गते १५ अर्ब, पुस २९ गते २० अर्ब र गत माघ ७ गते २० अर्बको रिपो जारी गरेको थियो ।