डच बाहनले रेल पूर्वाधार निर्माणमा १२ अर्ब यूरो लगानी गर्ने

0
Shares

जर्मनीको सरकारी रेल सेवा डच बाहन (डीबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करीब १२ अर्ब २० करोड यूरो (करीब १३ अर्ब ४३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना अघि सारेको छ ।

डीबीका पूर्वाधार निर्माण निर्देशक रोलान्ड पोफाल्लाले जर्मनीमा रेलवे सेवाको सुधारका लागि एकै वर्षमा यति ठूलो लगानी गरिएको यो पहिलो भएको बताए ।

सन् २०२० मा डच बाहनले जर्मनीमा १ हजार ८०० किलोमिटर रेलवे ट्रयाक र १ हजार ९०० भन्दा बढी स्वीच पुनः सञ्चालनमा ल्याउने बताएको छ । यसबाहेक, १६० ओटा पुल र ८०० भन्दा बढी ट्रेन स्टेशनलाई आधुनिक बनाइने छ ।

डीबीले सन् २०२० का लागि मात्र २ हजारभन्दा बढी दक्ष कामदार नियुक्त गरिने बताएको छ ।

जर्मन सरकार र डिबीबीच हालै मात्र वित्तीय लगानी सम्बन्धी सम्झौता भएको थियो । जर्मन सरकारले सन् २०३० सम्ममा जर्मन रेल सेवाको मर्मत सुधार र आधुनिकीकरणका लागि ८६ अर्ब यूरो लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

जर्मनीका अर्थमन्त्री ओलाफ सोल्जले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको बताउँदै डच बाहनले रेल सेवालाई अत्याधुनिक र गुणस्तरीय बनाउन सम्पूर्ण शक्ति लगाउने विश्वास व्यक्त गरेका छन् ।