कर्जाको भाखा नाघ्ने क्रम बढ्यो, ८९ लघुवित्तको ५ अर्ब १८ करोड

0
Shares

चालु आर्थिक वर्षको असोजसम्ममा लघुवित्त संस्थाहरुले विना धितो प्रवाह गर्ने ऋणमा भाखा नाघ्ने प्रवृत्ति बढ्न थालेको छ । सो अवधीमा ८९ लघुवित्तको ५ अर्ब १७ करोड २६ लाख रुपैयाँ कर्जा उठ्न बाँकी रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

सो अवधिसम्ममा लघुवित्तहरुले कुल ११ खर्ब ८४ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो कर्जा मध्ये ८ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ लघु व्यवसाय कर्जा प्रदान गरेका छन्। यस्तै माइक्रोफाइनान्सहरुले ९२ अर्ब ७७ करोड रुपैयाँ लघुउद्यम धितोकर्जा प्रवाह गरेका छन्। सो अवधिसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले २ खर्ब १६ अर्ब ३३ करोड रपैयाँ अन्य कर्जा प्रवाह गरेका छन्।

लघुवित्तको कर्जामा जोखिम बढ्न थालेपछि ४ अर्ब ४० करोड रुपैयाँ बराबरको जोखिम व्यवस्था गरेका छन्। माइक्रोफाइनान्सहरुले एक लाख २८ हजार ८ सय ३१ जना ऋणीलाइ दिएकोे ५ अर्ब १७ करोड रुपैयाँ जोखिममा परेकोमध्ये ४ अर्ब ४० करोड रुपैयाँ कर्जा नोक्सामनी व्यवस्था गरेका हुन्।

माइक्रो फाइनान्स कम्पनीले प्रवाह गरेको कर्जाले भाखा नाघ्नु भनेको संस्थालाई नै खतरा हुनु हो। कर्जाको भाखा नाघेको खण्डमा संस्थाले जोखिम व्यवस्था बापत रकम छुट्याउनुपर्छ। भाखा नाघेको कर्जाको अंशले नै संस्थाले प्रवाह गरेका कर्जाको अवस्थालाई बुझाँउछ।

समान्यत ऋणीले कर्जा तिर्नुपर्ने समयम समाप्त भएको ९० दिन नाघेको खण्डमा भाखा नाघेको कर्जा मानिन्छ। त्यसमा संस्थाले ९१ दिनको कर्जाका लागि कूल कर्जा रकमको २५ प्रतिशत ६ महिनाकोलाई ५० प्रतिशत र एक वर्ष बढी नाघेकोलाई शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्छ।

चालु आर्थिक वर्षको असोजसम्ममा माइक्रोफाइनान्सहरुले कूल ९१ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ अनिवार्य, स्वेच्छिक तथा अन्य बचत संकलन गरेका छन्। सो अवधिमा ८९ माइक्रो फाइनान्सले कूल २७ लाख ५५ हजार ४ सय २५ जनालाई कर्जा दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्ममा देशका ७७ वटै जिल्लामा लघुवित्तको सेवा पुगेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा ४४ लाख ६१ हजार ९ सय १४ जना सदस्या रहेको केन्द्रीय बैंकले जनाएको छ। सो अवधिसम्ममा ८९ माइक्रोफाइनान्सले १८ हजार ३७९ जनालाइ रोजगार दिएको केन्द्रीय बैंकले जनाएको छ।