जर्मन सरकारद्वारा किसानलाई एक अर्ब डलर सहायता घोषणा

0
Shares

जर्मनको गठबन्धन सरकार आवद्ध नेताहरूले किसानहरुलाई नयाँ वातावरणीय प्रभाव अनुकुल खेती गर्न उनीहरुलाई चार बर्षभन्दा बढी समयसम्म १ अर्ब युरो (एक अर्ब १० करोड अमेरिकी डलर) प्रदान गर्ने बिहीबार घोषणा गरेको छ ।

वातावरणीय कार्यक्रम र लगानीका लागि उक्त रकम उपलब्ध गराउने निर्णय सरकार र पार्टी नेताहरूको बुधबार राति बसेको बैठकबाट आएको जर्मनीको राज्य सञ्चालित समाचार संस्था डीपीएले जनाएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलको गठबन्धन सरकारमा क्रिष्चियन सोसलिस्ट यूनियन पार्टी र मध्य बामपन्थी समूह सोसल डेमोक्र्याट्स रहेको छ ।

बाभारियाका गभर्नर तथा गठबन्धन सरकारको सानो समूह क्रिश्चियन सोसल यूनियनका नेता मार्कस सोएदरले यो निर्णयलाई ‘किसानप्रतिको सदासयता र कठिन अवस्थामा उनीहरूका लागि गरेको सहयोग’ बताएका छन्।

जर्मन सरकारको यो निर्णय जर्मनी तथा यूरोपेली सङ्घ अन्तर्गतका अन्य केही मुलुकमा जलवायु परिवर्तनका कारण किसान असहज परिस्थितिको सामना गर्नु परेको भन्दै भइरहेका श्रृङ्खलावद्ध आन्दोलनपछि आएको हो । जर्मनीको राजधानी बर्लिनमा करिब १० हजार किसान भेला भै करिब पाँच हजार ट्रयाक्टर तेर्साएर सडक अवरूद्ध गरेका थिए । सरकारले किसानका मागलाई यथासम्भव सम्बोधन गर्ने आश्वासनपछि ती किसान घर पर्किएका थिए ।

किसानहरूले नयाँ वातावरणीय सुधारसम्बन्धी कानुनी सीमा उनीहरूका लागि बढी नियन्त्रणकारी भएको दावी गर्दै आएका थिए । उनीहरूले वातावरणीय सुधारसम्बन्धी कानुनी सीमाका कारण जर्मनीको आन्तरिक उत्पादनले आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने र उत्पादनमा समेत ह्रास आउने बताएका थिए । सरकारले किसानको मागलाई सम्बोधन गर्ने भनी गरेको सहमति अनुरूप नै सहयोग दिने भएको हो ।