चलखेलको आरोप लागेपछि एनसीसी बैंकको मर्जर कमिटीबाट बाहिरिए प्रधान

0
Shares

शेयर बजार सुधारिन थालेपछि सलबलाउन थालेका निर्मल प्रधानले एकाएक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको मर्जर कमिटी सदस्यबाट राजीनामा दिएका छन्।

शेयर बजारका ठूला खेलाडीको रुपमा चिनिएका प्रधानले एनसीसी बैंकको मर्जरको विषयलाई लिएर शेयर बजारमा चलखेल गर्न खोजेपछि लगानीकर्ता तथा नियामक निकायको दबाबमा राजीनामा दिएको स्रोतले जानकारी दियो।

मर्जरका पूर्ण कमिटीको बैठकले ठोस निर्णय नगरेपनि प्रधानले सञ्चार माध्यममा बैंकको मर्जर कमिटीको भित्री कुरा बाहिर ल्याएपछि सम्बन्धित कम्पनीहरुको शेयरमूल्य प्रभावित भएको भन्दै लगानीकर्ताहरुले उनलाई भित्री कारोबार गरेको आरोप समेत लगाएका थिए।

प्रभु बैंकसँगको मर्जरको विषयमा आफूखुसी सञ्चारमाध्यममा अन्तरवार्ता दिएपछि प्रधानलाई मर्जर कमिटीबाट हट्न बैंक व्यवस्थापन र नियामक निकायहरुबाट समेत दबाब परेको स्रोत बताउँछ।

प्रधानमाथि नैतिक दबाब बढेसँगै मर्जर कमिटीबाट उनी आफैँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। बैंकको सीईओ रमेशराज अर्यालले माघ ९ गते नै प्रधानले राजीनामा दिएको र बैंक सञ्चालक समितिको माघ १५ गते सम्पन्न बुधबारको बैठकले उनको राजीनामा स्वीकृत गरेको समेत नोटबजारलाई जानकारी दिए।

शुक्रबार सम्पन्न बैंकको साधारण सभामा आफ्नो धारणा राख्ने अधिकांश शेयरधनीले पनि प्रधानले बैंकको गोप्य सूचना बाहिर ल्याएको भन्दै उनीको अभिव्यत्तिको विरोध गरेका थिए।