कुमारी बैंकको यस्तो छ दोस्रो त्रैमासको प्रगति समीक्षा

0
Shares

कुमारी बैंक (KBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा अधिकांश सूचकहरुमा बढोत्तरी गर्दै खुद नाफामालाई बढाएको छ । ब्यवसायको आकार बढोत्तरी गर्दै ८० अर्ब पुर्याएको बैंकको खुद ब्याज आम्दानीमा २० प्रतिशतको सुधार आउँदा खुद नाफा पनि सोही अनुपातमा बढेको छ।

पुस मसान्तसम्ममा बैंकले खुद नाफामा १८.७५ प्रतिशतले बढोत्तरी गर्दै ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको पुस मसान्तसम्ममा बैकले ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

९ अर्ब ५५ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.७६ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २४ पैसा बढेको हो। पुस मसान्तसम्ममा जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै हालसम्म शेयरधनी कोषमा ६८ करोड २८ लाख रुपैयाँ सञ्चित छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको विपतरणयोग्य मुनाफा ६५ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसअनुसार बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १३.७८ प्रतिशतको लाभांश क्षमता कायम भएको छ ।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानिक जगेडा कोष र नियामकीय व्यवस्था पश्चात कायम हुने आउने फ्रि प्रोफिटलाई बैंकले शेयरधनीलाई लाभांशको रुपमा वितरणमा उपयोग गर्न सक्दछ।

बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकको ब्याज आम्दानी १ अर्ब ५१ करोडबाट १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालन दुबै १० प्रतिशत बढीले सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १७.३९ प्रतिशत बढेर १ अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको छ।

दश प्रतिशतले पूँजी बढाएको बैंकको जगेडा कोष ७.१५ प्रतिशत, शुल्क कमिसन आय ४७.०४ प्रतिशत, खुद ब्याज आम्दानी २०.१६ प्रतिशतले बढेको छ । बैंकको कर्मचारी खर्च ४६ करोड १९ लाखबाट ३४ प्रतिशत बढेर ६१ करोड ९२ लाख पुगेको छ।

बैंकको पूँजीकोष अनुपात १२.८१ बाट ११.५२ प्रतिशतमा, खराब कर्जा अनुपात १.२२ बाट १.०४ प्रतिशतमा, आधार ब्याजदर ११.५५ बाट १०.४५ प्रतिशतमा, कोषको लागत ८.१२ बाट ७.५० प्रतिशतमा कायम भएको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १६.७६ गुणा र स्प्रेडदर ३.३८ प्रतिशतबाट ४.३७ प्रतिशतमा बढेको छ।