भारतीय शेयर बजारका लगानीकर्ता नेपाली बजारमा भित्रने सम्भावना

0
Shares

भारतीय सुस्त अर्थतन्त्रका कारण नकारात्मक हुँदै आएको शेयर बजारबाट बाहिरिएका लगानीकर्ता नेपाली पूँजी बजारमा आउने सम्भावना बढेको छ। भारत सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०२०/२१ बजेटले पनि शेयरबजार मैत्री नीतिगत व्यवस्था नगरेपछि लगानीकर्ता नेपाली बजारमा आउने सम्भावना बढेको हो।

भारत सरकारले शनिबार बजेट ल्याउने भएपछि शेयर बजारमा पनि कारोबार भयो। तर, बजेटको दिन शनिबार पनि खुलेको भारतीय बजारमा बजेटका कारण पछिल्लो १० वर्ष यता कै उच्च अंकको गिरावट आयो। यसले गर्दा पनि आगामी दिनमा भारतीय शेयर बजार सकारात्मक रहनेमा लगानीकर्ता शङ्कामा रहेको देखिन्छ।

पछिल्लो समयमा सुस्त रहेको भारतीय अर्थतन्त्रलाई चलायमान बनाउनका लागि आर्थिक वर्ष २०२०/२१ को बजेटले ठोस नीति अबलम्बन गर्ने अपेक्षा शेयर लगानीकर्तामा रहेको अवस्थामा बजेटबाट त्यस्तो खालको कुनै पनि प्रयत्न नभएपछि लगानीकर्ता थप निराश भएका हुन्।

त्यसका साथै बजेटले लाभाशं वितरण गर्दा लाग्ने कर वापतको रकम हटाउने प्रस्ताव गरेपछि कम्पनीले तिर्दै आएका लाभांश कर लगानीकर्ताले नै तिर्नुपर्ने व्यवस्थाले गर्दा पनि शेयर बजार सुधारको बाटोमा जान्छ भन्नेमा लगानीकर्ता ढुक्क हुन नसकेको अवस्था छ।

अस्थिर अर्थतन्त्र तथा बजेटले त्यसलाई सुधारको परिकल्पना नगरेको अवस्थामा भारतीय र नेपाली दुबै शेयर बजारमा लगानी गर्ने लगानीकर्ता नेपाली पूँजी बजारमा आउने सम्भावना झनै बढेको विश्लेषकहरु बताउँछन्।

दुबै बजारमा लगानी गर्ने नेपाली समुदायका मारवाडी र व्यापार क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु आफु अनुकुलको वातावरणमा लगानी भारतको बजार र नेपालको बजारमा लाने लैजाने गर्ने गरेको उनीहरुको भनाई छ।

भारतीय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले नेपाली बजारमा पनि लगानी गर्ने भएकाले उल्टो प्रभाव पर्ने गरेको देखिन्छ। भारतीय शेयर बजार बढेको खण्डमा नेपाली शेयर बजारमा गिरावटको संकेत देखा पर्ने र भारतीय बजार घटेको अवस्था बढ्ने गरेको देखिन्छ।

दुबै बजारमा लगानी गर्ने लगानीकर्ता भएका कारण जुन बजारमा धेरै नाफा गर्ने अवसर हुन्छ लगानी त्यतै लैजाने हुँदा पनि नेपाली पूँजी बजार प्रभावित हुने गरेको हो। भारतको तुलनामा निकै सानो नेपाली शेयर बजारमा सानो पूँजीले पनि बजारलाई प्रभावित गराउन सकिने भएकाले पनि लगानीकर्ताको रोजाईमा नेपाली पूँजीबजार पर्ने गर्छ ।

विगतका वर्षहरुमा पनि भारतीय बजारमा रहेको लगानी बिक्री गरि मारबाडी तथा व्यापार समुदायमा लगानी गर्ने लगानीकर्ता नेपाली शेयर बजारमा आएको शेयर विश्लेषक प्रकाश तिवारीले बताए। “भारतीय र नेपाली दुबै बजारमा लगानी गर्ने नेपाली मुलका लगानीकर्ता छन्, विशेष गरि मारवाडी समुदाय र व्यापार क्षेत्रमा लगानी गरेका लगानीकर्ताले भारतीय र नेपाली दुबै मार्केटमा लगानी गर्ने र आफु अनुकुलको अवसरमा लगानी सिफ्ट गाराउने प्रवृत्ति रहेको छ।”

तर, अहिलको समयमा भारतीय शेयर बजार ओरालो लागेको धेरै नभएको हुनाले भारतीय पैसा नै आइसक्यो भन्न नसकिने तिवारीको तर्क छ। केही भारतीय बजारमा लगानी गर्ने मारवाडी समुदाय नेपाली बजार प्रवेश गरेको अवस्था रहेपनि बजारलाई प्रभावित गर्ने गरी भारतीय पैसा नआईसकेको उनले बताउँछन्।

“नेपाली पूँजी बजारमा पछिल्ला केही सातादेखि सुधारको बाटोमा रहनुको कारण भने ब्यापारका लागि चिनियाँ नाका कोरोना भाइरसका कारण बन्द रहेको हुनाले पनि हो,”उनले भने “पैसा सर्ट टर्म पार्किङका लागि पूँजी बजारमा आएको हुनाले पनि कारोबार रकम बढेको हो।” बजार परिसूचक बढ्ने र घट्ने गरेपनि कारोबार रकममा निरन्तर सुधार आउनुको मुख्य कारण भनेको बजारको पैसा बजारमा नै धेरै रोटेसन भएकाले पनि हो ।

भारतीय र नेपाली शेयर बजारमा लगानी गर्ने नेपालीहरु रहेको हुनाले पैसा आउने जाने भैरहने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए। “भारतीय शेयर बजारमा नकारात्मक भएको खण्डमा नेपाली पूँजी बजारको दृष्टिकोणबाट मात्र हेर्दा फाइदा नै हुन्छ ।” पछिल्ला दिनहरुमा भारतीय शेयर बजार नकारात्मक भएको भएपनि उताको शेयर बिक्री गरेर लगानीकर्ता नेपाली बजारमा आईसकेको अवस्था भने नभएको उनको भनाई छ।

करिब ४ वर्षको वियरिस ट्रेण्डपछि नेपाली पूँजी बजार बुल तर्फ जान लागेको देखिन्छ । तर, पछिल्ला दिनहरुमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा देखिएको उच्च अंकको उतार चढावले दीर्घकालीन होईन कि भन्ने अशंका लगानीकर्तामा रहेको देखिन्छ । नेप्से परिसूचक मात्र होइन कारोबार रकम पनि दैनिक २ अर्ब नाघेको अवस्था छ । कारोबार रकममा देखिएको सुधारले पनि नेपाली पूँजी बजारमा बुलतर्फ लागेको हो कि भन्ने मनोविज्ञान लगानीकर्तामा देखिन्छ ।