हालसम्मकै सबैभन्दा ठूलो आईपीओको प्रत्याभुतिकर्ता नागरिक लगानी कोष

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गर्न लागेको ८ अर्व बराबरको साधारण शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने भएको छ।

शेयर प्रत्याभुति सम्बन्धी सम्झौता–पत्रमा मंगलबार नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरे ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा आठ करोड कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।  नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ ।

बैंककोे अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व हुनेछ ।

काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरीे २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको थियो।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।