डडेल्धुरा र डोटीमा विस्तार हुँदै स्वास्थ्य बीमा कार्यक्रम

0
Shares

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा र डोटीमा चार वर्षपछि बल्ल स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेभएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच पु¥याउने उद्देश्यले शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम यी दुई जिल्लामा चार वर्षपछि बल्ल लागू हुनेभएको छ । आउँदो फागुन १ गतेबाट यहाँका दुई वटा जिल्लामा एकै साथ उक्त कार्यक्रम लागू हुनेभएको हो ।

स्वास्थ्य बीमामा आबद्ध हुनका लागि प्रति पाँच परिवारले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पछि उनीहरु बिरामी भए एक लाख बराबरको निःशुल्क औषधि पाउने व्यवस्था मिलाइएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सात जिल्लामा मात्रै उक्त कार्यक्रम लागू भएको थियो । सरकारले देशभरीका ४८८ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेपनि सुदूरपश्चिमका डडेल्धुरा र डोटीमा भने अहिलेसम्म लागू भएको थिएन । नेपाल सरकारले विसं २०७२ चैत २५ गतेबाट पहिलो पटक सुदूरपश्चिमको कैलाली जिल्लाबाट योे कार्यक्रमको शुभारम्भ गरेको थियो ।

सबै नागरिकलाई स्वास्थ्य बीमामा समावेश गराउने उद्देश्य अनुरुप डडेल्धुरा र डोटीमा पनि उक्त कार्यक्रम लागू गरिन लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भुषण मिश्रले बताए । उनले भने, “सुदूरपश्चिममा सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य बीमामा समावेश गराउँदैछौँ, डडेल्धुरा र डोटीमा पनि कार्यक्रम लागू भए यो प्रदेशको नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।” डडेल्धुरा र डोटीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले सम्पूर्ण तयारी पूरा गरिसकेको डा मिश्रले जानकारी दिए

त्यसैगरी यहाँका स्वास्थ्य स्वयंसेविकाको भने निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । राष्ट्रिय बीमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा समावेश गर्ने नीति लिएको छ भने थप ५० प्रतिशत रकम सुदूरपश्चिम प्रदेश सरकारले व्यवस्थापन गर्ने स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताए ।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा लागू भएको उक्त कार्यक्रममा हालसम्म कूल जनसङ्ख्याको १२ प्रतिशत मात्रै आबद्ध भएको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार विसं २०६८ को जनगणनाअनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म यो कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् ।

त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिब घरधुरी पहिचान गरी परिचयपत्र वितरण गरिसकेको छ । प्रदेशका अन्य पाँच जिल्लामा भने पहिचान हुन बाँकी रहेको जनाएको छ । बीमा बोर्डका अनुसार सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३५ हजार ८३१ र सबैभन्दा कम दार्जुलामा पाँच हजार ६८५ बीमित रहेका छन् । यसैगरी बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ जना बीमित रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार ३०१ जनाले स्वास्थ्य बीमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको निर्देशनालयले जनाएको छ । यो कार्यक्रमअन्तर्गत प्रदेशका सात जिल्ला गरी रु तीन करोड ८१ लाख पाँच हजार २६२ लगानी भइसकेको जनाएको छ ।

१ हजार १ सय ३८ प्रकारका औषधि निःशुल्क

स्वास्थ्य बीमा गराउनेहरुलाई सरकारले १ हजार १ सय ३८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।