हिमालयन जनरल इन्स्योरेन्सको लाभांश गैरस्थलगत सुपरिवेक्षण पश्चात घट्यो

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) को लाभांश घटेको छ। गत आर्थिक वर्षको मुनाफाबाट यसअघि घोषित १०.५ प्रतिशत लाभांशलाई परिमार्जन गरि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ७.७५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनी सञ्चालक समितिको माघ २१ गते सम्पन्न २४९ औं बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनस शेयर र ३.७५ प्रतिशतले अुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि पुस १५ गते सम्पन्न सञ्चालक समितिको २४७ औं बैठकले बीमा समितिको स्वीकृति पश्चात वितरण गर्नेगरि ५ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कूल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

बीमा समितिको माघ ८ गते गैरस्थलगत सुपरिवेक्षणबाट कम्पनीलाई आव २०७५/७६ को परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो। यससँगै नयाँ वित्तीय विवरण अनुसार कम्पनीको लाभांशदर घट्न पुगेको हो।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात इन्स्योरेन्सको आगामी २६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ४ प्रतिशत बोनस वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

हिमालयन जनरल इन्स्योरेन्सले बीमा समितिले तोके अनुसार जगेडा तथा कोषहरु कायम गर्नुपर्ने भएपछि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट पनि लाभांश वितरण गरेको थिएन।