रिलायन्स फाइनान्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफा ६ करोड माथि

0
Shares

रिलायन्स फाइनान्स (RLFL) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोडले नोक्सानीमा रहेको फाइनान्सले ६ करोड २२ लाख ३९ हजार नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो।

फाइनान्सले निक्षेप संकलन लागत घटाउँदै व्यवसायको विस्तार गरेको छ भने आफ्नो खराब कर्जा असुलीमा ध्यान दिँदा पछिल्लो तीन महिनामा मात्रै ७ करोड २२ लाख मुनाफा कमाएको हो।

गत आवको पुस मसान्तसम्ममा फाइनान्सको नाफा ४३ लाख ५० हजार मात्र थियो। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आवमा फाइनान्सको नाफा ५ करोड ७८ लाख रुपैयाँले नाफा बढेको हो।

चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी १४.९५ रुपैयाँ कायम भएको छ। फाइनान्सको मूल्य आम्दानी अनुपात ८.०९ गुणा छ। यस्तै जगेडा कोषमा १६ करोड ४० लाख रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा कायम भएको छ । चालु आवको ६ महिना अवधिमा वितरणगोग्य नाफा ४ करोड २९ लाखले बढाएको फाइनान्सको शेयरधनी कोषमा १४ करोड २१ लाख २७ हजार रुपैयाँ सञ्चित रहेको छ।

पुस मसान्तसम्ममा फाइनान्सले ४ अर्ब ६३ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४८ करोड १५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। गत आवको यसै अवधिमा फाइनान्सले ३ अर्ब ६१ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको थियो।

पुस मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ३९.१८ प्रतिशतले बढेर ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ। फाइनान्सको सञ्चालन नाफा पनि ८ करोड २७ लाख बढेर ८ करोड ८९ लाख कायम भएको छ ।

फाइनान्सले निष्क्रिय कर्जा अनुपात ०.२५ बिन्दुले घटेर १.६६ प्रतिशतमा कायम हुँदा पूँजीकोष अनुपात २३.९२ प्रतिशत, कोषको लागत ९.४४ प्रतिशत, आधार दर १२.३१ प्रतिशत र स्प्रेड दर ५.१३ प्रतिशत रहेको छ।