श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको EPS मा एक रुपैयाँ ४७ पैसा सुधार

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को वार्षिक प्रतिशेयर आम्दानी एक रुपैयाँ ४७ पैसाले सुधार भएको छ। नाफा बढेसँगै गत आवको यसै अवधिमा १४ रुपैयाँ ९३ पैसा रहेको फाइनान्सको इपिएस १६.४० रुपैयाँ पुगेको हो।

चालु आवको दोस्रो त्रैमासमा गत आवको तुलनामा १२.४७ प्रतिशतले बढोत्तरी गर्दै ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पुस मसान्तको प्रतिवेदन अनुसार फाइनान्सको चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार, जगेडा कोषमा २१ करोड ६६ लाख, शेयरधनी कोषमा ५ करोड ५ लाख रुपैयाँ छ। समीक्षा अवधिमा पूँजी २.३५ प्रतिशत, जगेडा कोष ५.७६ प्रतिशतले बढोत्तरी हुँदा शेयरधनी कोष ५२.४३ प्रतिशतले संकुचित भएको हो।

चालु आवको ६ महिनासम्ममा फाइनान्सले ४ अर्ब ७६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट १४ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा एक करोड ५६ लाख रुपैयाँ बढेको हो। फाइनान्सको सञ्चालन नाफा पनि एक करोड ७ लाख रुपैयाँले सुधार भई ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

चालु आवको पुस मसान्तसम्ममा फाइनान्सको खराब कर्जा अनुपातमा ०.२५ बिन्दुले बढेर ०।४४ प्रतिशतमा पुगेको छ। यस अवधिमा फाइनान्सको प्रतिशेयर नेटवर्थ १३२.२३ रुपैयाँ, पूँजी कोष अनुपात १९.६३, कोषको लागत ९.३१ प्रतिशत, आधारदर ११.४९ प्रतिशत, स्प्रेडदर ४.९६ प्रतिशत र मूल्य आम्दानी अनुपात ९.१४ गुणा छ।